खण्ड १३२
अगमवक्ता जोसेफ स्मिथद्वारा, नयाँ र अनन्त करारसँग सम्बन्धित, विवाहको करारको अनन्तता र बहुविवाहको सिद्धान्त सहित जुलाई १२, १८४३ मा अभिलेख गरिएको, नाभू, इलिनोइमा, दिइएको प्रकाश । यद्यपि यो प्रकाश १८४३ मा अभिलेख गरिएको भए तापनि, प्रमाणले सङ्केत गर्छ कि यस प्रकाशमा सम्लग्न केही सिद्धान्तहरू १८३१ को प्रारम्भमा नै अगमवक्ताद्वारा जानकारी थियो । हेर्नुहोस् आधिकारिक घोषणा १ ।
१–६, नयाँ र अनन्त करारद्वारा उत्कर्ष प्राप्त हुन्छ; ७–१४, त्यो करारका नियम र सर्तहरू निर्धारण गरिएका छन्; १५–२०, सेलेस्टियल विवाह र पारिवारिक एकाइको निरन्तरताले मानिसहरूलाई परमेश्वरहरू बन्न सक्षम बनाउँछ; २१–२५, कोप्चो र साँघुरो बाटोले अनन्त जीवनतर्फ अगुवाइ गर्छ; २६–२७, पवित्र आत्मा विरुद्धको ईश्वरनिन्दाका सम्बन्धमा नियम दिइएको छ; २८–३९, अनन्त सम्वृद्धि र उत्कर्षका प्रतिज्ञाहरू अगमवक्ताहरू र सन्तहरूलाई सबै युगहरूमा दिइन्छ; ४०–४७, जोसेफ स्मिथलाई पृथ्वी र स्वर्गमा सँगै राख्ने र बाँध्ने शक्ति दिइएको छ; ४८–५०, परमप्रभुले उनीमाथि आफ्नो उत्कर्षको बन्धन बाँध्नु हुन्छ; ५१–५७, एमा स्मिथलाई आस्थावान् र सत्य हुन सल्लाह दिइन्छ; ५८–६६, बहुविवाहलाई नियन्त्रित गर्ने नियमहरू निर्धारण गरिएका छन् ।
१ साच्चैँ नै, परमप्रभुले मेरा सेवक तिमी जोसेफलाई यसो भन्नुहुन्छ, कि म परमप्रभुले मेरा सेवकहरू अब्राहाम, इसहाक र याकूब, मोशा, दाउद र सोलोमनजस्तै पनि, तिनीहरूका धेरै पत्नीहरू र रखैलहरू हुनुका सम्बन्धमा तिमीले मबाट जान्न र बुझ्न चाहेका थियौ कि कुन कारणले मैले मेरा सेवकहरूलाई धर्मी ठहराएँ—
२ हेर र अवलोकन गर, म परमप्रभु तिम्रा परमेश्वर हुँ र यस विषयका सम्बन्धमा तिमीलाई उत्तर दिने छु ।
३ त्यसकारण, मैले तिमीलाई प्रदान गर्न लागेका निर्देशनहरू ग्रहण गर्न र पालना गर्नका लागि आफ्नो हृदय तयार पार; किनकि तिनीहरू सबै जसलाई यो नियम प्रकट गरिएको छ तिनीहरूले सोही पालना गर्नु पर्छ ।
४ किनकि हेर, म तिमीहरूलाई एक नयाँ र अनन्त करार प्रकट गर्छु; र यदि तिमीहरूले त्यो करार पालना गरेनौ भने, त्यतिबेला तिमीहरूलाई धिक्कार छ; किनकि कसैलाई पनि यो करारलाई अस्वीकार गरेर मेरो महिमामा प्रवेश गर्न अनुमति दिइँदैन ।
५ किनकि मबाट आशीर्वाद प्राप्त गर्ने सबैले त्यो आशीर्वादका लागि नियुक्त गरिएका नियम र यसका सर्तहरू पालना गर्नु पर्छ, जसरी संसारको स्थापना हुनुपूर्व देखि स्थापित् गरिएको थियो ।
६ अनि नयाँ र अनन्त करारका सम्बन्धमा, यो मेरो महिमाको परिपूर्णताका लागि स्थापना गरिएको थियो; र ऊ जसले यसको परिपूर्णता प्राप्त गर्छ उसले नियम पालना गर्नु पर्छ, अन्यथा उसलाई दोषी ठहर्याइने छ, परमप्रभु परमेश्वर भन्नुहुन्छ ।
७ अनि साच्चैँ नै म तिमीहरूलाई भन्छु, कि यस नियमका सर्तहरू यी हुन्: सबै करारहरू, सम्झौताहरू, बन्धनहरू, दायित्वहरू, शपथहरू, प्रतिज्ञाहरू, निर्वाहहरू, सम्बन्धहरू, साहचर्यहरू वा अपेक्षाहरू, जुन प्रतिज्ञाको पवित्र आत्माद्वारा निर्माण गरिएका र प्रवेश गरिएका र बाँधिएका छैनन्, उहाँबाट जो दुबै समय र अनन्तताका लागि र सबै अनन्तका लागि अभिषेक गरिनु भएको छ र त्यो पनि अति पवित्र, प्रकाश र आज्ञाद्वारा मेरा अभिषिक्त जनहरूका माध्यमबाट, जसलाई मैले यो शक्ति धारण गर्न पृथ्वीमा नियुक्त गरेको छु (र मैले मेरा सेवक जोसेफलाई अन्तिम दिनहरूमा यो शक्ति धारण गर्नका लागि नियुक्त गरेको छु र पृथ्वीमा एक पटकमा एकभन्दा बढीलाई यो शक्ति र यस पादरित्वका साँचाहरू प्रदान गरिएको छैन) जसको कुनै प्रभावकारिता, सद्गुण वा शक्ति मृत्युबाट पुनरुत्थानमा र त्यस पश्चात हुने छैन; किनकि सबै सम्झौताहरू जुन यस उद्देश्यका लागि निर्माण गरिएनन् मानिसहरूको मृत्यु पश्चात समाप्त हुन्छन् ।
८ हेर, मेरो गृह व्यवस्थाको गृह हो, परमप्रभु परमेश्वर भन्नुहुन्छ, र भ्रमको गृह होइन ।
९ परमप्रभु भन्नुहुन्छ, मेरो नाममा नगरिएको अर्पण के म स्वीकार गर्छु?
१० अथवा के मैले त्यो तिमीबाट प्राप्त गर्ने छु जुन मैले नियुक्त गरेको छैन?
११ अनि के म तिमीहरूलाई नियुक्त गर्ने छु, परमप्रभु भन्नुहुन्छ, यो नियमद्वारा बाहेक, जसरी म र मेरा पिताले तिमीहरूलाई संसार हुनुपूर्व नै नियुक्त गर्नुभएको थियो?
१२ म परमप्रभु तिमीहरूका परमेश्वर हुँ; अनि म तिमीहरूलाई यो आज्ञा दिन्छु—कि मद्वारा वा मेरा वचनद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्ने छैन, जुन मेरो नियम हो, परमप्रभु भन्नुहुन्छ ।
१३ अनि संसारमा भएका हरेक विषय, चाहे त्यो मानिसहरूद्वारा नियुक्त गरिएको हुन सक्छ, सिंहासनद्वारा वा राज्यहरूद्वारा वा शक्तिहरूद्वारा वा नामका विषयवस्तुहरू, जुनसुकै भए तापनि, जुन मद्वारा वा मेरा वचनद्वारा होइनन् भने, परमप्रभु भन्नुहुन्छ, तल फ्याँकिने छ र मानिसहरूको मृत्यु भएपछि न त पुनरुत्थानमा अथवा यसपछि नै रहने छन्, परमप्रभु तिमीहरूका परमेश्वर भन्नुहुन्छ ।
१४ किनकि जे-जति विषयवस्तुहरू बाँकी हुन्छन्, ती मद्वारा हुन्छन्; र जे-जति विषयवस्तुहरू मद्वारा हुँदैनन् ती हल्लाइने छन् र विनाश गरिने छन् ।
१५ त्यसकारण, यदि कुनै मानिसले संसारमा उसका लागि पत्नीसँग विवाह गर्छ र उसले तिनलाई मेरो वा मेरा वचनद्वारा विवाह गर्दैन र उसले संसारमा रहँदासम्म र ऊ तिनीसँग रहँदासम्म उनीसँग प्रतिज्ञा गर्छ भने, जब तिनीहरूको मृत्यु हुन्छ, तिनीहरूका करार र विवाह प्रभावकारी रहँदैनन् र जब तिनीहरू संसारबाट बाहिर हुन्छन्; त्यसकारण, तिनीहरू संसारबाट बाहिर हुँदा कुनै पनि नियममा बाँधिएका हुँदैनन् ।
१६ त्यसकारण, जब तिनीहरू संसारबाट बाहिर हुन्छन् तिनीहरूले न विवाह गर्छन् न त विवाहित नै बन्छन्; तर स्वर्गमा स्वर्गदूतहरू नियुक्त गरिएकाछन्, जो स्वर्गदूतहरू सेवा गर्ने सेवकहरू हुन्, तिनीहरूका लागि जो यो भन्दा पनि अधिक र अधिक, अनन्त परिपूर्ण महिमाका लागि योग्य छन् ।
१७ किनकि यी स्वर्गदूतहरूले मेरो नियम पालना गरेनन्; तसर्थ, तिनीहरूलाई विस्तृत गर्न सकिँदैन तर अलग र एक्लै रहन्छन्, उत्कर्ष बिना, तिनीहरूको मुक्ति पाएको अवस्थामा, सम्पूर्ण अनन्तसम्म; र यस पश्चात् परमेश्वरहरू हुँदैनन् तर सदा र सदासर्वदा परमेश्वरका स्वर्गदूतहरू हुन् ।
१८ अनि पुनः, साच्चैँ नै म तिमीहरूलाई भन्छु, यदि कुनै मानिसले एउटी पत्नीसँग विवाह गर्छ र समय र अनन्तकालका लागि उनीसँग करार गर्छ, यदि त्यो करार मद्वारा वा मेरा वचनद्वारा हुँदैनन् भने, जुन मेरो नियम हो र प्रतिज्ञाको पवित्र आत्माद्वारा बाँधिएको छैन, तिनीद्वारा जसलाई मैले यो शक्तिमा अभिषेक गरेको छु र नियुक्त गरेको छु, तब तिनीहरू संसारबाट बाहिर हुँदा यो मान्य छैन न त प्रभावकारी नै हुन्छ किनभने तिनीहरू मद्वारा जोडिएका छैनन्, परमप्रभु भन्नुहुन्छ, न त मेरा वचनद्वारा नै; जब तिनीहरू संसारबाट बाहिर हुन्छन्, तिनीहरूलाई त्यहाँ ग्रहण गर्न सकिँदैन, किनभने स्वर्गदूतहरू र परमेश्वरहरू त्यहाँ नियुक्त गरिन्छ, जसलाई तिनीहरूले पार गर्न सक्दैनन्; त्यसकारण, तिनीहरू मेरो महिमाका उत्तराधिकारी हुन सक्दैनन्; किनभने मेरो गृह रीतको गृह हो, परमप्रभु परमेश्वर भन्नुहुन्छ ।
१९ अनि पुनः, साच्चैँ नै म तिमीहरूलाई भन्छु, यदि कुनै मानिसले मेरा वचनद्वारा, जुन मेरो नियम हो र नयाँ र अनन्त करारद्वारा एउटी पत्नीसँग विवाह गर्छ र यो प्रतिज्ञाको पवित्र आत्माद्वारा, ती अभिषिक्त जनद्वारा तिनीहरूलाई बाँधिन्छ, जसलाई मैले यो शक्ति र यो पादरित्वको साँचो नियुक्त गरेको छु; अनि तिनीहरूलाई यसो भनिने छ—तिमीहरू पहिलो पुनरुत्थानमा बाहिर आउने छौ; र यदि यो पहिलो पुनरुत्थान पछि हो भने; अर्को पुनरुत्थानमा; र सिंहासनहरू, अधिराज्यहरू, राज्यहरू र शक्तिहरू, प्रभुत्वहरू, सबै उचाइहरू र गहिराइहरू उत्तराधिकारका रूपमा प्राप्त गर्ने छौ—त्यसपछि यो थुमाको जीवनको पुस्तकमा लेखिने छ, कि उसले निर्दोषको रगत बगाउनका लागि कुनै हत्या गर्ने छैन र यदि तिमीहरू मेरो करारमा रह्यौ भने र निर्दोषको रगत बगाउनका लागि कुनै हत्या गरेनौ भने समय र अनन्तकालसम्म यी मेरा सेवकले तिनीहरूमाथि लगाएका सबै विषयहरूमा, तिनीहरूसामु गरिने छ र तिनीहरू संसारबाट बाहिर हुँदा पूर्ण शक्तिमा हुने छन्; र तिनीहरू स्वर्गदूतहरू र परमेश्वरहरूबाट पार गर्ने छन्, जो त्यहाँ खटाइएका छन्, सबै विषयहरूमा तिनीहरूको उत्कर्ष र महिमाका लागि, जसरी तिनीहरूको शिरमा बाँधिएको छ, जुन महिमा सदा र सदासर्वदाका लागि सन्ततिहरूको पूर्णता र निरन्तरता हुने छ ।
२० तब तिनीहरू परमेश्वरहरू हुने छन्, किनभने तिनीहरूको अन्त्य छैन; यसकारण तिनीहरू अनन्तदेखि अनन्तसम्म हुने छन् किनभने तिनीहरू निरन्तर हुन्छन्; तब तिनीहरू सबै भन्दा माथि हुने छन्, किनभने सबै विषयवस्तु तिनीहरूको अधीनमा छन् । तब तिनीहरू परमेश्वरहरू हुने छन्, किनभने तिनीहरूसँग सबै शक्ति छ र स्वर्गदूतहरू तिनीहरूको अधीनमा छन् ।
२१ साच्चैँ नै, साच्चैँ नै, म तिमीहरूलाई भन्छु, यदि तिमीहरूले मेरो नियम पालना गरेनौ भने तिमीहरूले यो महिमा प्राप्त गर्न सक्दैनौ ।
२२ किनकि द्वार साँघुरो छ र जीवनको उत्कर्ष र निरन्तरतातर्फ लैजाने मार्ग कोप्चो छ र यसलाई भेट्टाउने थोरै छन्, किनभने तिमीहरूले मलाई संसारमा ग्रहण गर्दैनौ न त मलाई चिन्छौ ।
२३ परन्तु यदि तिमीहरूले मलाई संसारमा ग्रहण गर्छौ, तब तिमीहरूले मलाई चिन्ने छौ र तिमीहरूको उत्कर्ष प्राप्त गर्ने छौ; ताकि जहाँ म छु तिमीहरू पनि हुने छौ ।
२४ यो अनन्त जीवन हो—एकमात्र ज्ञानी र सत्य परमेश्वर र येशू ख्रीष्टलाई बुझ्न, जसलाई उहाँले पठाउनुभएको छ । म त्यही हुँ । त्यसकारण, मेरो नियम ग्रहण गर ।
२५ द्वार फराकिलो छ र मार्ग चौडा छ जसले मृत्युतर्फ डोर्याउँछ; र त्यस स्थानमा जाने त्यहाँ धेरै छन्, किनभने तिनीहरूले मलाई ग्रहण गर्दैनन्, न त तिनीहरू मेरो नियममा रहन्छन् ।
२६ साच्चैँ नै, साच्चैँ नै, म तिमीहरूलाई भन्छु, यदि कुनै पनि पुरुषले मेरो वचनअनुसार एउटी पत्नीसँग विवाह गर्छ र तिनीहरू मेरो विधिअनुसार, प्रतिज्ञाको पवित्र आत्माद्वारा बाँधिन्छन् र ऊ वा उनले नयाँ र अनन्त करारका कुनै पनि पाप वा उल्लङ्घन र सबै प्रकारका निन्दाहरू गर्ने छन् भने अनन्त करार जे भए तापनि र यदि तिनीहरूले कुनै हत्या गरेनन् जसमा तिनीहरूले निर्दोषको रगत बगाएनन् भने यद्यपि तिनीहरू पहिलो पुनरुत्थानमा बाहिर आउने छन् र तिनीहरूको उत्कर्षमा प्रवेश गर्ने छन्; तर तिनीहरू शरीरमा नाश हुने छन् र मुक्तिको दिनसम्म शैतानको उत्पीडनमा सुम्पिइने छन्, परमप्रभु परमेश्वर भन्नुहुन्छ ।
२७ पवित्र आत्माका विरुद्धको निन्दा, जुन न त संसारमा न त संसारबाट बाहिर नै क्षमा हुने छ, त्यो हो कि तिमीहरूले हत्या गर्छौ जहाँ तिमीहरूले निर्दोषको रगत बगायौ अनि मेरो नयाँ र अनन्त करार प्राप्त गरेपछि मेरो मृत्युका लागि सहमत हुन्छौ, परमप्रभु परमेश्वर भन्नुहुन्छ; र जसले यो नियम पालना गर्दैन ऊ मेरो महिमामा प्रवेश गर्न सक्दैन, तर तिरस्कार गरिने छ, परमप्रभु भन्नुहुन्छ ।
२८ म परमप्रभु तिम्रा परमेश्वर हुँ र संसार हुनुपूर्व नै म र मेरा पिताद्वारा नियुक्त गरिएको मेरो पवित्र पादरित्वको नियम तिमीलाई दिने छु ।
२९ अब्राहामले सबै विषयवस्तुहरू प्राप्त गरे, उनले जे प्राप्त गरे, प्रकाश र आज्ञाद्वारा, मेरा वचनद्वारा, परमप्रभु भन्नुहुन्छ र उहाँको उत्कर्षमा प्रवेश गरे र उहाँको सिंहासनमा विराजमान भएका छन् ।
३० अब्राहामले आफ्ना वंशज र आफ्ना सन्ततिका सम्बन्धमा प्रतिज्ञाहरू प्राप्त गरे—जसका सन्तति तिमीहरू हौ अर्थात्, मेरा सेवक जोसेफ—जुन तिनीहरू संसारमा रहँदा सम्म निरन्तर रहने थिए; र अब्राहाम र तिनका सन्ततिलाई स्पर्श गरे जस्तै, संसारबाट तिनीहरू निरन्तर रहनु पर्छ; संसारमा र संसार बाहिर दुबैतर्फ तिनी ताराहरू जस्तै असङ्ख्य रूपमा निरन्तर रहनु पर्छ; वा, यदि तिमीहरूले समुन्द्रको किनारमा बालुवा गन्यौ भने तिनीहरूको गन्ती गर्न सक्दैनौ ।
३१ यो प्रतिज्ञा तिमीहरूको पनि हो, किनकि तिमीहरू अब्राहामका हौ र यो प्रतिज्ञा अब्राहामलाई गरिएको थियो; र यो नियमद्वारा मेरा पिताका कार्यहरूको निरन्तरता हो, जसमा उहाँले आफूस्वयम् लाई महिमा दिनुहुन्छ ।
३२ त्यसकारण अब्राहामले गरेका कार्यहरू गर; मेरो नियममा प्रवेश गर र तिमीहरूले मुक्ति प्राप्त गर्ने छौ ।
३३ परन्तु यदि तिमीहरू मेरो नियममा प्रवेश गरेनौ भने तिमीहरूले मेरा पिताको प्रतिज्ञा प्राप्त गर्न सक्दैनौ, जुन उहाँले अब्राहामलाई गर्नुभएको थियो ।
३४ परमेश्वरले अब्राहामलाई आज्ञा दिनुभयो र साराले हागर अब्राहामलाई पत्नीकी रूपमा दिईन् । अनि तिनले किन यसो गरिन्? किनभने यो नियम थियो; र हागरबाट धेरै व्यक्तिहरू जन्मिए । त्यसकारण, यो, अन्य विषयहरूसहित प्रतिज्ञाहरूको पूर्णता थियो ।
३५ त्यसकारण के अब्राहाम तिरस्कारमा थिए? साच्चैँ नै म तिमीहरूलाई भन्छु, होइन; किनभने म, परमप्रभुले यो आज्ञा दिएँ ।
३६ अब्राहामलाई आफ्नो छोरा इसहाक अर्पण गर्न आज्ञा दिइएको थियो; यद्यपि, यो लेखिएको थियो: तिमीले ज्यान लिनु हुँदैन । यद्यपि, अब्राहामले अस्वीकार गरेनन् र यसलाई उनको धार्मिकताका रूपमा लिइयो ।
३७ अब्राहामले रखैलहरू पाए र तिनीहरूले तिनका लागि छोराछोरीहरू जन्माए; र यसलाई उनको धार्मिकताका रूपमा लिइयो, किनभने तिनीहरू उनलाई दिइएको थियो र उनले मेरो नियम पालना गरे जसरी इसहाक र याकूबले उनीहरूलाई आज्ञा दिइएको बाहेक अरू केही गरेनन्; र किनभने उनीहरूले आज्ञा दिएका बाहेक अन्य केही नगरेका हुनाले; उनीहरू प्रतिज्ञाहरूअनुसार आफ्नो उत्कर्षमा प्रवेश गरेका छन् र सिंहासनमा बसेका छन् र स्वर्गदूतहरू होइनन् तर परमेश्वरहरू हुन् ।
३८ दाउदले पनि धेरै पत्नीहरू र रखैलहरू प्राप्त गरे र मेरा सेवकहरू सोलोमन र मोशाहरूले पनि, जस्तै मेरा अन्य धेरै सेवकहरूले पनि, सृष्टिको सुरुदेखि यस समयसम्म; तिनीहरूले मबाट प्राप्त नगरेका विषयहरू बाहेक अन्य कुनै विषयमा पाप गरेनन् ।
३९ दाउदका पत्नीहरू र रखैलहरू मबाट उनलाई दिइएको थियो, मेरा सेवक नातानका माध्यमबाट र अन्य अगमवक्ताहरू जससँग यो शक्तिका साँचाहरू थिए; उरियाह र तिनकी पत्नीको विषयमा बाहेक तिनले यीमध्ये कुनै पनि विषयमा मेरा विरुद्धमा पाप गरेनन्; र त्यसकारण उनी आफ्नो उत्कर्षबाट पतन भएका छन् र तिनले आफ्नो पुरस्कार प्राप्त गरेका छन्; र उनले तिनीहरूलाई संसार बाहिर उत्तराधिकारका रूपमा प्राप्त गर्ने छैनन्, किनकि मैले तिनीहरू अर्कैलाई दिएँ, परमप्रभु भन्नुहुन्छ ।
४० म परमप्रभु तिम्रा परमेश्वर हुँ र मेरा सेवक जोसेफ, मैले तिमीलाई कार्यभार दिएको छु र सबै कार्यहरू पुनर्स्थापित गर्छु । तिमी जे चाहन्छौ सो माग र मेरा वचनअनुसार तिमीलाई दिइने छ ।
४१ अनि जसरी तिमीले व्यभिचारका सम्बन्धमा सोधेका छौ, साच्चैँ नै, साच्चैँ नै, म तिमीहरूलाई भन्छु, यदि कुनै पुरुषले नयाँ र अनन्त करारमा एउटी पत्नीलाई ग्रहण गर्छ र यदि तिनी अर्को पुरुषसँग छिन् भने र मैले पवित्र अभिषेकद्वारा उनलाई नियुक्त गरेको छैन भने उनले व्यभिचार गरेकी छिन् र तिनी विनाश हुने छिन् ।
४२ यदि तिनी नयाँ र अनन्त करारमा छैनन् र उनी अर्को पुरुषसँग छिन् भने, उनले व्यभिचार गरेकी छिन् ।
४३ अनि यदि उनका पति अर्की स्त्रीसँग छन् र उनी सपथमा थिए भने, उनले आफ्नो सपथ तोडेका छन् र व्यभिचार गरेका छन् ।
४४ अनि यदि उनले व्यभिचार गरेकी छैनन् तर निर्दोष छिन् र आफ्नो सपथ तोडेकी छैनन् र उनलाई यो जानकारी छ र मेरा सेवक जोसेफ, म यो तिमीलाई, प्रकट गर्छु, तब मेरो पवित्र पादरित्वको शक्तिद्वारा, तिनलाई लिन र उनलाई दिन तिमीसँग शक्ति हुने छ जसले व्यभिचार गरेका छैन तर आस्थावान् बनेका छन्; किनकि उनलाई धेरै जनामाथि अगुवा बनाइने छ ।
४५ किनकि मैले तिमीलाई पादरित्वका साँचाहरू र शक्ति प्रदान गरेको छु, जसमा म सबै विषयवस्तुहरू पुनर्स्थापित गर्छु र सही समयमा सबै विषयहरू तिमीलाई जानकारी दिन्छु ।
४६ अनि साच्चैँ नै, साच्चैँ नै, म तिमीलाई भन्छु, कि तिमीले पृथ्वीमा जे बाँध्ने छौ त्यो स्वर्गमा पनि बाँधिने छ; र मेरो नाममा र मेरो वचनद्वारा तिमीले पृथ्वीमा जे बाँध्छौ, परमप्रभु भन्नुहुन्छ, त्यो अनन्तसम्म स्वर्गहरूमा बाँधिने छ; र जसका पापहरू तिमीले पृथ्वीमा क्षमा दिन्छौ, स्वर्गमा अनन्तका लागि क्षमा दिइने छ; र जसका पापलाई तिमीले पृथ्वीमा राख्छौ त्यो स्वर्गमा पनि राखिने छ ।
४७ अनि पुनः, म साच्चैँ नै भन्छु, जसलाई तिमीले आशीर्वाद दिन्छौ म आशीर्वाद दिने छु र जसलाई तिमीले श्राप दिन्छौ म श्राप दिने छु, परमप्रभु भन्नुहुन्छ; किनकि म, परमप्रभु, तिम्रा परमेश्वर हुँ ।
४८ अनि पुनः, साच्चैँ नै म तिमीलाई भन्छु, मेरा सेवक जोसेफ, कि मेरा वचन र मेरा नियमअनुसार पृथ्वीमा तिमीले जे दिन्छौ र पृथ्वीमा जो कसैलाई दिन्छौ भने र आशीर्वादहरूका साथ त्यो भेट हुने छ र श्रापहरूले होइन र मेरो शक्तिका साथ, परमप्रभु भन्नुहुन्छ र पृथ्वी र स्वर्गमा तिरस्कारबिनाको हुने छ ।
४९ किनकि म परमप्रभु तिम्रा परमेश्वर हुँ र संसारको अन्त्यसम्म र अनन्तकालसम्म तिमीसँग रहने छु; किनकि साच्चैँ म तिमीमाथि तिम्रो उत्कर्ष बाँध्छु र मेरा पिताको अधिराज्यमा तिम्रा पिता अब्राहामसँग तिम्रा लागि एउटा सिंहासन तयार गर्छु ।
५० हेर, मैले तिम्रा बलिदानहरू देखेको छु र तिम्रा सबै पापहरू क्षमा गर्ने छु; मैले ती आज्ञा पालना गर्नमा तिम्रा बलिदानहरू देखेको छु जुन मैले तिमीलाई भनेको छु । यसकारण जाऊ र म तिम्रा लागि उम्कने सुरक्षित मार्ग तयार पार्ने छु, जसरी मैले अब्राहामका छोरा इसहाकको अर्पण स्वीकार गरेँ ।
५१ साच्चैँ नै, म तिमीहरूलाई भन्छु: म मेरी सेविका, एमा स्मिथ, तिम्री पत्नीलाई एक आज्ञा दिन्छु, जसलाई मैले तिमीलाई दिएको छु, कि उनी आफूस्वयम् रहनु पर्छ र मैले तिमीलाई उनलाई अर्पण गर्न आज्ञा दिएका विषयवस्तुहरू स्वीकार गर्नु हुँदैन; किनकि तिमीहरू सबैलाई प्रमाणित गर्नका लागि, मैले अब्राहामलाई जस्तै मैले यसो गरेँ, परमप्रभु भन्नुहुन्छ र ताकि मलाई करार र बलिदानद्वारा तिम्रा हातबाट भेटी चाहिन सक्छ ।
५२ अनि मेरी सेविका, एमा स्मिथले, मेरा सेवक जोसेफलाई प्रदान गरिएका सबै प्राप्त गर्नु पर्छ र जो मेरा अगाडि सद्गुणी र विशुद्ध छन्; र जो विशुद्ध छैनन् अनि तिनीहरू विशुद्ध थिए भनी भनेका थिए, नष्ट हुने छन्, परमप्रभु परमेश्वर भन्नुहुन्छ ।
५३ किनकि म परमप्रभु तिमीहरूका परमेश्वर हुँ र तिमीहरूले मेरो आज्ञा पालना गर्नु पर्छ; र म मेरा सेवक जोसेफलाई दिन्छु कि उनलाई धेरै सन्दर्भहरूमा शासक बनाइने छ; किनकि उनी केही विषयहरूमा विश्वासयोग्य भएका छन् र अबदेखि म उनलाई मजबुत बनाउने छु ।
५४ अनि म मेरी सेविका एमा स्मिथलाई अरू कसैसँग नभई मेरा सेवक जोसेफसँग आत्मसात गर्न र समाहित हुन आज्ञा दिन्छु । परन्तु यदि उनले यो आज्ञा पालना गरीनन् भने उनी विनाश हुने छिन्, परमप्रभु भन्नुहुन्छ; किनकि म परमप्रभु तिम्रा परमेश्वर हुँ र यदि उनले मेरो नियम पालना गरीनन् भने उनलाई विनाश गर्ने छु ।
५५ परन्तु यदि उनले यो आज्ञा पालना गरिनन् भने, मेरा सेवक जोसेफले उनका लागि सबै कार्य गर्नु पर्छ, यहाँ सम्म कि उनले तिनीलाई भने जस्तै; र म उनलाई आशीर्वाद दिने छु र उनको वंश-वृद्धि गर्ने छु र उनलाई यस संसारमा एक सय गुणा दिने छु, पिताहरू र माताहरू, दाजुभाइ र दिदीबहिनीहरू, घरहरू र जमीनहरू, पत्नीहरू र सन्ततिहरू र अनन्त संसारहरूमा अनन्त जीवनका मुकुटहरू ।
५६ अनि पुनः, म साच्चैँ नै भन्छु, मेरी सेविकाले मेरा सेवक जोसेफलाई उनका उल्लङ्घनहरूमा क्षमा गर्नु पर्छ; अनि त्यसपछि उनका उल्लङ्घनहरूको क्षमा हुने छ, जहाँ उनले मेरा विरुद्धमा उल्लङ्घन गरेकी छिन्; अनि म, परमप्रभु तिमीहरूका परमेश्वरले उनलाई आशीर्वाद दिने छु र उनलाई वंश-वृद्धि दिने छु र उनको हृदयलाई आनन्दित तुल्याउने छु ।
५७ अनि पुनः, म भन्छु, मेरा सेवक जोसेफले आफ्नो सम्पत्ति उनको हातबाट दिनु वा बेच्नु हुँदैन, अन्यथा आएर उनलाई नष्ट गर्छ; शैतानले नाश गर्न खोज्छ; किनकि म परमप्रभु तिमीहरूका परमेश्वर हुँ र उनी मेरा सेवक हुन्; अनि हेर र अवलोकन गर, म उनीसँग छु, जसरी म तिम्रा पिता अब्राहामसँग थिएँ, उनको महानता र महिमामा समेत ।
५८ अब, पादरित्वको नियमका सम्बन्धमा, यससँग सम्बन्धित त्यहाँ धेरै विषयहरू छन् ।
५९ साच्चैँ नै, यदि कुनै मानिसलाई हारुनलाई जस्तै मेरा पिताबाट मेरो आफ्नै वाणीद्वारा र मलाई पठाउनेको वाणीद्वारा बोलावट गरिन्छ भने र मैले उनलाई यस पादरित्वको शक्तिका साँचाहरू प्रदान गरेको छु, यदि उनले मेरो नाममा र मेरा नियम र मेरा वचनअनुसार केही गर्छन् भने, उनले पाप गर्ने छैनन् र म उनलाई धर्मी घोषणा गर्ने छु ।
६० यसकारण कसैले पनि मेरा सेवक जोसेफलाई आलोचना गर्नु हुँदैन; किनकि म उसलाई धर्मी ठहराउने छु; किनभने उनले आफ्ना उल्लङ्घनहरूका लागि मैले उनीबाट चाहेका आवश्यक बलिदान उनले गर्ने छन्, परमप्रभु तिमीहरूका परमेश्वर भन्नुहुन्छ ।
६१ अनि पुनः, पादरित्वको नियमसँग सम्बन्धित—यदि कुनै पुरुषले कन्यालाई विवाह गर्छन् र अर्कीलाई विवाह गर्न चाहन्छन् र पहिलीले उनलाई स्वीकृति दिन्छिन् र यदि उनले दोस्रीलाई विवाह गर्छन् भने र तिनीहरू कन्याहरू हुन् र अन्य कुनै मानिससँग भाकल गरेका छैनन् भने, तब उनी धर्मी हुन्छन्; उनले व्यभिचार गर्न सक्दैनन् किनकि तिनीहरू उनलाई दिइएको छ; किनकि उनले त्योसँग व्यभिचार गर्न सक्दैन जो उनको हो र अरू कसैको पनि होइन ।
६२ अनि यदि यस नियमद्वारा उनलाई दश कन्याहरू दिइएको छ भने, उनले व्यभिचार गर्न सक्दैन्, किनकि तिनीहरू उनका हुन् र तिनीहरू उनलाई दिइएका छन्; त्यसैले उनलाई न्यायोचित ठानिन्छ ।
६३ परन्तु यदि दश कन्याहरूमध्ये एक वा कुनै एकले विवाह गरिसकेपछि, अर्को पुरुषसँग हुन्छिन् भने, उनले व्यभिचार गरेकी छिन् र नष्ट हुने छिन्; किनकि मेरो आज्ञाअनुसार पृथ्वीमा वृद्धि गर्न र भर्नका लागि र मेरा पिताले संसारको सृष्टि गर्नुपूर्व दिनुभएको प्रतिज्ञा पूरा गर्न र अनन्त संसारहरूमा तिनीहरूको उत्कर्षका लागि ती उनलाई दिइएको छ ताकि तिनीहरूले मानिसहरूका आत्माहरूलाई जन्म दिन सक्छन्; किनकि यसमा मेरा पिताको कार्य निरन्तर रूपमा चलिरहेको छ, ताकि उहाँ महिमित हुन सक्नुहुन्छ ।
६४ अनि पुनः, साच्चैँ नै, साच्चैँ नै, म तिमीहरूलाई भन्छु, यदि यस शक्तिको साँचो धारण गर्ने कुनै पुरुषकी पत्नी छन् र उनले तिनलाई यी विषयहरूसँग सम्बन्धित मेरो पादरित्वको नियम सिकाउँछन् भने, उनले तिनलाई विश्वास र सहयोग गर्ने छिन् अन्यथा परमप्रभु तिमीहरूका परमेश्वर भन्नुहुन्छ; म उनलाई नष्ट गर्ने छु; किनकि मेरो नियम ग्रहण गर्ने र पालना गर्ने सबैमाथि म मेरो नामको महिमा गर्ने छु ।
६५ त्यसकारण, ममा यो नियमसङ्गत हुने छ, यदि तिनले यो नियम ग्रहण गरिनन् भने, उनले सबै विषयवस्तुहरू प्राप्त गर्नका लागि जुन म, परमप्रभु तिनका परमेश्वरले उनलाई दिने छु, किनभने तिनले विश्वास गरिनन् र मेरा वचनअनुसार उनलाई सहयोग गरिनन्; अनि तिनी अपराधी बन्छिन्; र तिनलाई साराको नियमबाट छुट हुन्छ, जसले अब्राहामलाई नियमअनुसार सहयोग गरे जब मैले अब्राहामलाई हागारलाई पत्नी बनाउन आज्ञा दिएँ ।
६६ अनि अब, यस नियमका सम्बन्धमा, साच्चैँ नै, साच्चैँ नै, म तिमीहरूलाई भन्छु, म तिमीहरूलाई यसपछि, अझै धेरै प्रकट गर्ने छु; त्यसैले, वर्तमानका लागि यो पर्याप्त हुन देऊ । हेर, म अल्फा र ओमेगा हुँ । आमीन ।