धर्मशास्त्रहरू
सिद्धान्त र करार १३३


खण्ड १३३

अगमवक्ता जोसेफ स्मिथद्वारा हाइराम, ओहायोमा नोभेम्बर ३, १८३१ मा दिइएको प्रकाश । यो प्रकाशको प्रस्तावनाका रूपमा, जोसेफ स्मिथको इतिहासले बताउँछ, “यस समयमा एल्डरहरूले पृथ्वीका बासिन्दाहरूलाई सुसमाचार प्रचार गर्ने र एकत्रित गर्ने सम्बन्धमा धेरै विषयहरू जान्न; र सत्य प्रकाशमा हिंड्न र उच्चबाट निर्देशित हुन चाहन्थे, नोभेम्बर ३, १८३१ मा, मैले परमप्रभुलाई सोधेँ र निम्न महत्त्वपूर्ण प्रकाश प्राप्त गरेँ ।” पहिले यो खण्ड परिशिष्टका रूपमा सिद्धान्त र करारको पुस्तकमा थपिएको थियो र तत्पश्चात् खण्ड नम्बर तोकिएको थियो ।

१–६, सन्तहरूलाई दोस्रो आगमनका लागि तयारी गर्न आज्ञा दिइएको छ; ७–१६, सबै मानिसहरूलाई बेबिलोनबाट भाग्न, सियोनमा आउन र परमप्रभुको महान् दिनका लागि तयारी गर्न आज्ञा दिइएको छ; १७–३५, उहाँ सियोन पर्वतमा खडा हुनुहुने छ, महाद्वीपहरू एउटै भूमि हुने छन् र इस्राएलका हराएका जनजातिहरू फर्कने छन्; ३६–४०, सारा संसारमा प्रवचन दिन जोसेफ स्मिथद्वारा सुसमाचार पुनर्स्थापित गरियो; ४१–५१, परमप्रभु दुष्टहरूमाथि प्रतिशोध लिन तल आउनुहुने छ; ५२–५६, यो उहाँको उद्धारको वर्ष हुने छ; ५७–७४, सन्तहरूलाई बचाउन र दुष्टहरूको विनाशका लागि सुसमाचार पठाइने छ ।

सुन, हे तिमीहरू मेरो चर्चका जनहरू हो, परमप्रभु तिमीहरूका परमेश्वर भन्नुहुन्छ र तिमीहरूका सम्बन्धमा परमप्रभुका वचन सुन—

परमप्रभु जो अचानक आफ्नो मन्दिरमा आउनुहुने छ; परमप्रभु जो न्यायका लागि श्रापसँगै संसारमा तल आउनुहुने छ; हो, परमेश्वरलाई बिर्सने सबै राष्ट्रहरूमा र तिमीहरूका बीचमा सबै धर्मच्युतहरूमाथि ।

किनकि उहाँले सबै राष्ट्रहरूका आँखामा आफ्नो पवित्र बाहु उजागर गर्नुहुने छ र पृथ्वीका सीमान्तहरूका सबैले आफ्ना परमेश्वरको उद्धार पहिचान गर्ने छन् ।

यसकारण, हे मेरा जनहरू हो, तयार गर, तयार गर; आफूस्वयम् लाई पवित्र बनाओ; हे मेरो चर्चका जनहरू हो, सियोनको भूमिमा तिमीहरू सबैलाई एकत्रित गर, तिमीहरू सबै जसलाई त्यहाँ बस्न आज्ञा दिइएको छैन ।

तिमीहरू बेबिलोनबाट निस्केर जाओ । तिमीहरू विशुद्ध होओ जसले परमप्रभुका पात्रहरू बोक्छौ ।

आफ्नो पवित्र सभाहरू बोलाओ र बारम्बार एक अर्कासँग वार्तालाप गर । अनि हरेक मानिसले परमप्रभुको नाम पुकार्नु पर्छ ।

हो, साच्चैँ नै म तिमीहरूलाई पुनः भन्छु, समय आएको छ जब परमप्रभुको वाणी तिमीहरूमा आउने छ: तिमीहरू बेबिलोनबाट बाहिर जाओ; तिमीहरूले राष्ट्रहरूका बीचबाट, चारै दिशाहरूबाट, स्वर्गको एक सीमादेखि अर्को सीमासम्म एकत्रित गर ।

मेरो चर्चका एल्डरहरूलाई टाढाका राष्ट्रहरूमा पठाओ; समुद्रका टापुहरूमा; विदेशी भूमिहरूमा पठाओ; सबै राष्ट्रहरूलाई बोलाओ, पहिले गैह्र यहूदीहरूलाई र त्यसपछि यहूदीहरूलाई ।

अनि हेर र अवलोकन गर, यो तिनीहरूको पुकार र सबै मानिसहरूलाई परमप्रभुको वाणी हुने छ: तिमीहरू सियोनको भूमिमा अघि जाओ, ताकि मेरा जनहरूका सिमानाहरू फराकिला हुन सक्छन् र तिनका किलाहरू मजबुत हुन सक्छन् र कि सियोन वरपरका क्षेत्रहरूमा अघि जान सक्छन् ।

१० हो, सबै मानिसहरूका माझमा पुकार पुग्नु पर्छ: जाग र उठ र दुलहालाई भेट्न अगाडि बढ; हेर र अवलोकन गर, दुलहा आउँदै हुनुहुन्छ; उहाँलाई भेट्न बाहिर जाओ । परमप्रभुको महान् दिनका लागि आफूस्वयम् लाई तयार पार ।

११ त्यसकारण होसियार रहो, किनकि तिमीहरूलाई दिन र समय जानकारी छैन ।

१२ त्यसकारण, तिनीहरू जो गैह्र यहूदीहरूमध्येका छन्, सियोनतिर भाग्नु पर्छ ।

१३ अनि यहूदाका जनहरू यरूशलेममा, परमप्रभुको गृह भएको पहाडहरूतर्फ भाग्नु पर्छ ।

१४ राष्ट्रहरूका बीचबाट निस्केर जाओ, बेबिलोनबाट पनि, दुष्टताको बीचबाट, जुन आत्मिक बेबिलोन हो ।

१५ परन्तु साच्चैँ नै, परमप्रभु यसो भन्नुहुन्छ, तिमीहरूको प्रस्थान हतारमा हुनुहुँदैन तर सबै विषयवस्तुहरू तिमीहरू अघि तयार हुनु पर्छ; र जो जान्छ, उसले पछाडि हेर्नु हुँदैन अन्यथा उसमाथि अचानक विनाश आउने छ ।

१६ हे पृथ्वीका बासिन्दाहरू हो, सुन र सूचित बन । हे मेरो चर्चका एल्डरहरू, सँगै सुन र परमप्रभुको वाणीमा सूचित बन; किनकि उहाँले सबै मानिसहरूलाई बोलाउनु हुन्छ र उहाँले सबैतिरका सबै मानिसहरूलाई पश्चात्ताप गर्न आज्ञा दिनुहुन्छ ।

१७ किनकि हेर, परमप्रभु परमेश्वरले स्वर्गका बीचमा पुकार्दै स्वर्गदूतलाई यसो भन्दै पठाउनुभएको छ: परमप्रभुको मार्ग तयार पार र उहाँका मार्गहरू सीधा बनाओ, किनकि उहाँको आगमनको समय नजिकै छ—

१८ जब थुमा सियोनको पर्वतमा उभिनुहुने छ, निधारमा उहाँका पिताको नाम लेखेर एक लाख चौवालीस हजार उहाँसँगै उभिने छन् ।

१९ यसकारण, दुलहाको आगमनका लागि तयारी गर; तिमीहरू जाओ, उहाँलाई भेट्न तिमीहरू बाहिर जाओ ।

२० किनकि हेर, उहाँ जैतुनको डाँडामा र शक्तिशाली समुद्रमा, महान् गहिराइमा र समुद्रका टापुहरूमा र सियोनको भूमिमा उभिनुहुने छ ।

२१ अनि उहाँले आफ्नो वाणी सियोनबाट बोल्नुहुने छ र उहाँले यरूशलेमबाट बोल्नुहुने छ र उहाँको वाणी सबै मानिसहरूका बीचमा सुनिने छ;

२२ अनि यो धेरै पानीको आवाजजस्तै हुने छ र महान् गर्जनको आवाजजस्तै हुने छ, जसले पहाडहरू भत्काउने छ र उपत्यकाहरूको अस्तित्व भेटिने छैन ।

२३ उहाँले महान् गहिराइहरूलाई आज्ञा दिनुहुने छ र यसलाई उत्तरी देशहरूमा फर्काइने छ र टापुहरू एउटै भूमि हुने छन्;

२४ अनि यरूशलेमको भूमि र सियोनको भूमिलाई तिनीहरूको आफ्नै स्थानमा फर्काइने छ र पृथ्वी त्यस्तै हुने छ जस्तो विभाजित हुनुपूर्वका दिनहरूमा थियो ।

२५ अनि परमप्रभु, मुक्तिदाता समेत, उहाँका जनहरूका बीचमा उभिनुहुने छ र सबै प्राणीमाथि शासन गर्नुहुने छ ।

२६ अनि उत्तर देशहरूमा बस्नेहरू परमप्रभु अघि सम्झनामा आउने छन्; र तिनीहरूका अगमवक्ताहरूले उहाँको वाणी सुन्ने छन् र अब आफूलाई संयम राख्ने छैनन्; र तिनीहरूले चट्टानहरूलाई प्रहार गर्ने छन् र तिनीहरूको उपस्थितिमा बरफ तल बग्ने छ ।

२७ अनि एउटा राजमार्ग महान् गहिराइको बीचमा फ्याँकिने छ ।

२८ तिनीहरूका शत्रुहरू तिनीहरूका लागि शिकार बन्ने छन्,

२९ अनि बाँझा मरुभूमिहरूमा पानीका प्रवाहित पोखरीहरू प्रकट हुने छन्; र सुख्खा जमिन अब प्यासी भूमि हुने छैन ।

३० अनि तिनीहरूले मेरा सेवकहरू एफ्राइमका सन्ततिहरूका लागि तिनीहरूका बहुमूल्य खजानाहरू ल्याउने छन् ।

३१ अनि चिरस्थायी पहाडहरूका सिमानाहरू तिनीहरूको उपस्थितिमा काप्ने छन् ।

३२ अनि त्यहाँ तिनीहरूले घुँडा टेक्ने छन् र सियोनमा समेत, परमप्रभुका सेवकहरू, एफ्राइमका सन्ततिहरू समेतका हातद्वारा महिमाको मुकुट पहिराइने छ ।

३३ अनि तिनीहरू अनन्त प्रसन्नताका गीतहरूले भरिने छन् ।

३४ हेर, यो इस्राएलका कुलहरूमाथि अनन्त परमेश्वरको आशीर्वाद‌ हो र एफ्राइम र तिनका सहयोगीहरूको शिरमा अझै महान् आशीर्वाद‌ हो ।

३५ अनि यहूदाका कुलका उनीहरू पनि, तिनीहरूको पीडा पछि, परमप्रभुको उपस्थितिमा दिन र रात, सदा र सदासर्वदाका लागि बस्न उहाँसामु पवित्रतामा पवित्र बनाइने छन् ।

३६ अनि अब, साच्चैँ नै परमप्रभु भन्नुहुन्छ, कि यी कार्यहरू तिमीहरूका बीचमा बुझ्न सकिन्छन्, हे पृथ्वीका बासिन्दाहरू, मैले स्वर्गका बीचमा उड्दै गरेका मेरा स्वर्गदूतलाई अघि पठाएको छु, जससँग अनन्त सुसमाचार छ, जो केहीसामु प्रकट भएका छन् र यसलाई मानिसलाई सुम्पेका छन्, जो पृथ्वीमा बस्ने धेरैसामु प्रकट हुने छन् ।

३७ अनि यो सुसमाचार हरेक राष्ट्र र कुटुम्ब र भाषा र जनहरूलाई प्रचार गरिने छ ।

३८ अनि परमेश्वरका सेवकहरू चर्को आवाजमा यसो भन्दै अगाडि बढ्ने छन्: परमेश्वरसँग डराओ र उहाँलाई महिमा देओ किनकि उहाँको न्यायको घडी आएको छ;

३९ अनि स्वर्ग र पृथ्वी र समुद्र र पानीका मुहानहरू बनाउनुहुनेलाई आराधना गर—

४० दिनरात परमप्रभुको नाम पुकार्दै, यसो भन्दै: हे कि हजुरले स्वर्गलाई तोड्नु हुने छ, कि हजुर तल आउनुहुने छ, कि हजुरको उपस्थितिमा पहाडहरू तल झर्न सक्छन् ।

४१ अनि तिनीहरूको शिरमाथि जवाफ दिइने छ; किनभने परमप्रभुको उपस्थिति जलाइने आगो जस्तै हुने छ र आगोले जस्तै त्यसले पानीलाई उम्लिने बनाउने छ ।

४२ हे परमप्रभु, हजुर आफ्ना विरोधीहरूलाई आफ्नो नाम बताउन तल आउनुहुने छ र सबै राष्ट्रहरू हजुरको उपस्थितिमा काप्ने छन्—

४३ जब हजुर भयानक कार्यहरू गर्नुहुन्छ, ती कार्यहरू जुन तिनीहरूले अपेक्षा गर्दैनन्;

४४ हो, जब हजुर तल आउनुहुन्छ र पहाडहरू हजुरको उपस्थितिमा बग्छन्, हजुरले तिनलाई भेट्नुहुने छ जो आनन्दित हुन्छ र धार्मिकताको कार्य गर्छ, जसले हजुरलाई हजुरका तरिकाहरूमा सम्झन्छ ।

४५ किनकि संसारको प्रारम्भदेखि नै मानिसहरूले सुनेका छैनन् न त कानद्वारा सचेत गराइएका छन्, न त कुनै आँखाले देखेका छन्, हे परमेश्वर, हजुरबाहेक, हजुरले उसका लागि कति महान् विषयवस्तुहरू तयार गर्नुभएको छ जसले हजुरलाई प्रतिक्षा गरिरहेको छ ।

४६ अनि यसो भनिने छ: यी को हुन् जो परमेश्वरबाट स्वर्गमा रङ्गिएको बस्त्र लिएर आउनुभएको छ; हो, नचिनेका क्षेत्रहरूबाट, उहाँको महिमित पहिरनमा उहाँको शक्तिको महानतामा यात्रा गर्दै हुनुहुन्छ?

४७ अनि उहाँले भन्नुहुने छ: म नै हुँ जसले मुक्ति प्रदान गर्ने शक्तिसहित धार्मिकतामा बोलेको छु ।

४८ अनि परमप्रभुको आफ्नो पहिरन रातो हुने छ र उहाँका बस्त्रहरू दाखको कारखानामा काम गर्ने कामदारका जस्तै हुने छन् ।

४९ अनि उहाँको उपस्थितिको महिमा यति महान् हुने छ कि सूर्यले आफ्नो मुहार लाजले लुकाउने छ र चन्द्रमाले आफ्नो उज्यालोलाई रोक्ने छ र ताराहरूलाई तिनीहरूको स्थानबाट फ्याँकिने छ ।

५० अनि उहाँको वाणी सुनिने छ: मैले एक्लै दाखमद्य कुल्चेको छु र सबै मानिसहरूमाथि न्याय ल्याएको छु; र मसँग कोही पनि थिएनन्;

५१ अनि मैले तिनीहरूलाई मेरो क्रोधमा कुल्चेको छु र मेरो क्रोधमा मैले तिनीहरूलाई कुल्चिएँ र तिनीहरूको रगत मेरा बस्त्रहरूमा छर्केको छु र मेरा सबै कपडाहरूमा दाग लगाएको छु; किनकि यो प्रतिहिंसा लिने दिन थियो जुन मेरो हृदयमा थियो ।

५२ अनि अब मेरो उद्धारको वर्ष आएको छ; र तिनीहरूले आफ्ना परमप्रभुको मायालु दयाको र उहाँले तिनीहरूलाई उहाँको असलपना र उहाँको मायालु दयाअनुसार प्रदान गर्नुभएका सबै सदा र सदासर्वदाका लागि उल्लेख गर्ने छन् ।

५३ तिनीहरूका सबै कष्टहरूमा उनी दुःखित थिए । अनि उहाँको उपस्थितिमा स्वर्गदूतले तिनीहरूलाई बचाए; अनि आफ्नो प्रेममा र आफ्नो करुणामा, उनले तिनीहरूको उद्दार गरे र तिनीहरूलाई समर्थन गरे र पुरातन दिनहरूमा तिनीहरूलाई सहयोग गरे;

५४ हो, अनि हनोक पनि र तिनीसँग भएका मानिसहरू; उनीभन्दा अगाडिका अगमवक्ताहरू; र नोआ पनि र उनीभन्दा अगाडिका मानिसहरू पनि; र मोशा पनि र तिनीहरू जो उनीभन्दा अगाडि थिए;

५५ अनि मोशादेखि एलिया र एलियादेखि यूहन्नासम्म, जो उहाँको पुनरुत्थानमा ख्रीष्टसँग थिए र पवित्र प्रेरितहरू, अब्राहाम, इसहाक र याकूबसँग थुमाको उपस्थितिमा हुने छन् ।

५६ अनि सन्तहरूका चिहानहरू खोलिने छन्; र तिनीहरू बाहिर आउने छन् र थुमाको दाहिने हाततर्फ उभिने छन्, जब उहाँ सियोन पर्वतमा र पवित्र सहर, नयाँ यरूशलेममा खडा हुनुहुने छ; र तिनीहरूले दिन र रात भरि सदा अनि सदासर्वदाका लागि थुमाको गीत गाउने छन् ।

५७ अनि यस कारणका लागि, ताकि मानिसहरूलाई प्रकट हुने महिमाहरूमा सहभागी बनाउन सकिन्छ, परमप्रभुले आफ्नो सुसमाचारको पूर्णता, उहाँको अनन्त करार, स्पष्टता र सरलतामा तर्क गर्दै पठाउनुभयो—

५८ पृथ्वीमा आउने ती घटनाहरूका लागि र परमप्रभुको कार्यका लागि कमजोरहरूलाई तयार पार्न जुन दिनमा कमजोरहरूले बुद्धिमान् हरूलाई खलबल पार्ने छन् र एक कमजोर राष्ट्र मजबुत बन्ने छ र दुईले तिनीहरूका दशौँ हजारहरू शत्रुहरूलाई भगाउने छन् ।

५९ अनि पृथ्वीका कमजोर वस्तुहरूद्वारा परमप्रभुले उहाँको आत्माको शक्तिद्वारा राष्ट्रहरूलाई भिन्न पार्नु हुने छ ।

६० अनि यसै कारणले यी आज्ञाहरू दिइयो; तिनीहरूलाई दिइएको दिनमा उनीहरूलाई संसारबाट टाढा राख्न आज्ञा दिइएको थियो तर अब सबै प्राणीहरूकहाँ जानु पर्छ—

६१ अनि यो सबै प्राणीमाथि शासन गर्ने परमप्रभुको मन र चाहनाअनुसार हुन्छ ।

६२ अनि पश्चात्ताप गर्ने र परमप्रभुसामु आफू स्वयंलाई पवित्र पार्नेलाई अनन्त जीवन दिइने छ ।

६३ अनि परमप्रभुको वाणीलाई नसुन्नेहरूमाथि अगमवक्ता मोशाद्वारा लेखिएको त्यो पूरा हुने छ कि उनीहरूलाई जनबीचबाट अलग्याइनु पर्छ ।

६४ अनि अगमवक्ता मलाकीद्वारा त्यो पनि लेखिएको थियो: किनकि हेर, त्यो दिन आउने छ त्यो भट्टी जस्तै बल्ने छ; र सबै घमण्डी, हो र सबै जसले दुष्टतापूर्वक गर्छन्, ठुटो हुने छन्; र त्यो आउने दिनले उनीहरूलाई जलाउने छ, सैन्यहरूका अधिपति भन्नुहुन्छ, ताकि यसले उनीहरूलाई न त जरा न त हाँगा नै छोड्ने छ ।

६५ यसकारण, तिनीहरूलाई परमप्रभुको जवाफ यो हुने छ:

६६ त्यस दिन जब म आफ्नैकहाँ आएँ, तिमीहरूमध्ये कसैले पनि मलाई ग्रहण गरेनौ र तिमीहरूलाई निर्वासित गरियो ।

६७ जब मैले पुनः बोलाएँ, त्यहाँ जवाफ दिने तिमीहरूमध्ये कोही थिएन; तैपनि मेरो बाहु कत्ति पनि छोटो भएको थिएन, न त मुक्त गर्ने मेरो क्षमता नै, जुन मैले उद्दार गर्न नसकौँ ।

६८ हेर, मेरो हप्काइले समुद्रलाई म सुकाउँछु । म नदीहरूलाई उजाड स्थान बनाउँछु; र तिनीहरूका माछाहरूलाई म गनाउने बनाइदिन्छु र तिनीहरू तिर्खाले मर्छन् ।

६९ म स्वर्गहरूलाई अन्धकार पहिराउँछु र तिनीहरूको ओढ्ने भाङ्ग्राको बनाउँछु ।

७० अनि तिमीहरूले मेरा हातबाट यही प्राप्त गर्ने छौ—तिमीहरू दुःखमा पर्ने छौ ।

७१ हेर र अवलोकन गर, तिमीहरूलाई बचाउने कोही छैन; किनभने जब मैले स्वर्गबाट तिमीहरूलाई बोलाएँ, तिमीहरूले मेरो वाणीलाई पालना गरेनौ; तिमीहरूले मेरा सेवकहरूलाई विश्वास गरेनौ र जब तिनीहरूलाई तिमीहरूकहाँ पठाइयो तिमीहरूले तिनीहरूलाई ग्रहण गरेनौ ।

७२ त्यसकारण, तिनीहरूले गवाहीलाई मोहर लगाए र नियमलाई बाँधे र तिमीहरूलाई अन्धकारमा सुम्पिइयो ।

७३ यिनीहरू बाहिरी अन्धकारमा जाने छन्, जहाँ रुवाइ र चिच्याहट र दाह्रा किटाइ छन् ।

७४ हेर परमप्रभु तिमीहरूका परमेश्वरले यो भन्नुभएको छ । आमीन ।