खण्ड १३८
अध्यक्ष जोसेफ एफ. स्मिथलाई सल्ट लेक सिटी, यूटामा, अक्टोबर ३, १९१८ मा दिइएको दर्शन । अक्टोबर ४, १९१८ मा चर्चको ८९ औँ अर्धवार्षिक साधारण सम्मेलनमा आफ्नो समुद्घाटन सम्बोधनमा, अध्यक्ष स्मिथले घोषणा गरे कि उनले यसपूर्वका महिनाहरूमा धेरै दैवी सञ्चारहरू प्राप्त गरेका थिए । यी मध्ये एक, मृतकका आत्माहरूलाई मुक्तिदाताको भेटका सम्बन्धमा जब उहाँको शरीर चिहानमा थियो, अध्यक्ष स्मिथले अघिल्लो दिन प्राप्त गरेका थिए । यो सम्मेलनको अन्त्यको लगत्तै पछि लेखिएको थियो । अक्टोबर ३१, १९१८ मा, यो प्रथम अध्यक्षतामा, बाह्रको परिषद् मा र कुलपिताका सल्लाहकारहरूलाई पेश गरिएको थियो र यो सर्वसम्मतिले स्वीकृत भएको थियो ।
१–१०, अध्यक्ष जोसेफ एफ. स्मिथले पत्रुसका लेखहरू र हाम्रा परमप्रभुको आत्मिक संसारको भ्रमणमा मनन गर्छन्; ११–२४, अध्यक्ष स्मिथले धर्मी मृतकहरूलाई स्वर्गमा एकत्रित भएका र तिनीहरूका माझमा ख्रीष्टको सेवा देख्छन्; २५–३७, उनले कसरी सुसमाचारको प्रचार आत्माहरूबीच व्यवस्थित गरिएको थियो भनेर देख्छन्; ३८–५२, उनले आदम, हब्बा र धेरै पवित्र अगमवक्ताहरूलाई आत्मिक संसारमा देख्छन् जसले उनीहरूको पुनरुत्थानपूर्वको आफ्नो आत्मिक अवस्थालाई दासत्वका रूपमा मान्थे; ५३–६०, यस दिनका धर्मी मृतकहरूले आत्माहरूको संसारमा आफ्नो श्रमलाई निरन्तरता दिन्छन् ।
१ उन्नाइस सय अठ्ठाह्रा अक्टोबरको तेस्रो दिनमा म आफ्नो कोठामा बसेर धर्मशास्त्र मनन गरिरहेको थिएँ;
२ अनि संसारको उद्धारका लागि, परमेश्वरका पुत्रद्वारा गरिएको महान् प्रायश्चितको बलिदानलाई प्रतिबिम्बित गर्दै;
३ अनि संसारमा उद्धारकर्ताको आगमनमा पिता र पुत्रद्वारा प्रकट गरिएको महान् र अद्भूत प्रेम;
४ ताकि उहाँको प्रायश्चितद्वारा र सुसमाचारका सिद्धान्तहरूको आज्ञाकारिताद्वारा, मानवजातिले उद्धार प्राप्त गर्न सक्छन् ।
५ म यसरी व्यस्त हुँदा, मेरो मन प्रेरित पत्रुसको लेखमा फर्कियो, पोटस, गलातिया, कापाडोकिया र एसियाका अन्य भू-भागहरूमा छरिएका प्राचीन सन्तहरूमा, जहाँ परमप्रभुको क्रूसारोहण पश्चात् सुसमाचार प्रचार गरिएको थियो ।
६ मैले बाइबल खोलेँ र पत्रुसको पहिलो पत्रको तेस्रो र चौथो अध्याय पढेँ र निम्न खण्डहरू पढ्दा म धेरै प्रभावित भएँ, जुन यसपूर्व म कहिल्यै भएको थिएन:
७ “किनकि ख्रीष्टले पनि एक पटक पापका लागि दुःख भोग्नु भएको छ, धर्मीले अन्यायीहरूका लागि, ताकि उहाँले हामीलाई परमेश्वरमा ल्याउन सक्नुहुन्छ, शरीरमा मारिएर, तर आत्माद्वारा जीवित हुनुभयो:
८ “जसद्वारा उहाँले कैदमा भएका आत्माहरूलाई पनि प्रवचन दिनुभयो;
९ “जो कुनै समय अवज्ञाकारी थिए, जब एक पटक परमेश्वरको सहनशीलताले नोआको दिनमा प्रतीक्षा गरिरहेको थियो, जब जहाजको तयारी भइरहेको थियो, जसमा थोरै, अर्थात्, आठ आत्माहरूलाई पानीले बचाएको थियो ।” (१ पत्रुस ३:१८–२० ।)
१० “किनकि यस कारण मृतकहरूलाई पनि सुसमाचार प्रचार गरिएको थियो, ताकि तिनीहरूले शरीरमा मानिसहरूअनुसार न्याय प्राप्त गर्न सक्छन् तर आत्मामा परमेश्वरकाअनुसार जिउन सक्छन् ।” (१ पत्रुस ४:६ ।)
११ जब मैले यी लेखिएका कथनहरू मनन गरेँ, मेरो समझका आँखाहरू खुले र परमप्रभुको आत्मा ममाथि विश्राम गर्यो र मैले मृतकका साना र विशाल दुबै सेनाहरू देखेँ ।
१२ अनि त्यहाँ एक ठाउँमा एकत्रित भएका न्यायोचितहरूका आत्माहरूको असङ्ख्य समूहहरू थिए, जो मरणशीलतामा जिउँदा येशूको गवाहीमा आस्थावान् थिए;
१३ अनि जसले परमेश्वरका पुत्रको महान् बलिदानको प्रतिरूपमा बलिदान अर्पण गरेका थिए र तिनीहरूका उद्धारकर्ताको नाममा सङ्कष्ट भोगेका थिए ।
१४ यी सबैले मरणशील जीवन छोडेका थिए, एक महिमाको पुनरुत्थानको आशामा दृढ भएर, परमेश्वर पिता र उहाँका एकमात्र पुत्र येशू ख्रीष्टको अनुग्रहद्वारा ।
१५ मैले देखेँ कि तिनीहरू प्रसन्नता र आनन्दले भरिएका थिए र सँगै रमाइरहेका थिए किनभने तिनीहरूको उद्धारको दिन नजिक थियो ।
१६ मृत्युको बन्धनबाट तिनीहरूको उद्धारको घोषणा गर्न, आत्मिक संसारमा परमेश्वरका पुत्रको आगमनको प्रतीक्षामा तिनीहरू एकत्रित भएका थिए ।
१७ तिनीहरूको सुतेको धूलोलाई यसको पूर्ण स्वरूपमा पुनर्स्थापित गरिनु थियो, उसको हड्डीमा हड्डी र तिनीहरूमा स्नायु र मासु, आत्मा र शरीर पुनः कहिल्यै विभाजित नहुने गरी एकतावद्ध गरिनु पर्छ, ताकि तिनीहरूले आनन्दको पूर्णता प्राप्त गर्न सक्छन् ।
१८ जब यो विशाल भीड प्रतिक्षा गरिरहेका र वार्तालाप गरिरहेको थियो, मृत्युको साङ्लोबाट उद्धारको घडीमा रमाइलो गर्दै, परमेश्वरका पुत्र प्रकट हुनुभयो, आस्थावान् रहेका बन्दीहरूलाई स्वतन्त्रताको घोषणा गर्दै;
१९ अनि त्यहाँ उहाँले अनन्त सुसमाचार, पुनरुत्थानको सिद्धान्त र पतनबाट र पश्चात्तापका सर्तहरूमा व्यक्तिगत पापहरूबाट मानवजातिको उद्धारका सम्बन्धमा तिनीहरूलाई प्रवचन दिनुभयो ।
२० परन्तु दुष्टहरूकहाँ उहाँ जानुभएन र अधर्मीहरू र पश्चात्ताप नगर्नेहरूका माझमा जसले शरीरमा हुँदा तिनीहरू स्वयम् लाई अशुद्ध पारेका थिए, उहाँको वाणी उठेन;
२१ प्राचीन अगमवक्ताहरूको गवाही र चेतावनीहरूलाई अस्वीकार गर्ने विद्रोहीहरूले न त उहाँको उपस्थिति देखे, न उहाँको मुहारमा हेरे ।
२२ जहाँ यी थिए, अन्धकारले राज्य गर्यो, तर धर्मीहरूबीच शान्ति थियो;
२३ अनि सन्तहरू तिनीहरूको उद्धारमा रमाए र घुँडा टेके र मृत्यु र नरकका साङ्लाहरूबाट उद्धारकर्ता र उद्धारकका रूपमा परमेश्वरका पुत्रलाई स्वीकार गरे ।
२४ तिनीहरूको अनुहार उज्यालो भयो र परमप्रभुको उपस्थितिबाट उज्यालो तिनीहरूमाथि पर्यो र तिनीहरूले उहाँको पवित्र नामको प्रशंसा गाए ।
२५ म आश्चर्यमा परेँ, किनकि मैले बुझेँ कि मुक्तिदाताले यहूदीहरू र इस्राएलका घरानाहरूका माझमा आफ्नो परोपकारमा करिब तीन वर्ष बिताउनुभयो, तिनीहरूलाई अनन्त सुसमाचार सिकाउन र तिनीहरूलाई पश्चात्ताप गर्न आमन्त्रण गर्ने प्रयास गर्दै;
२६ अनि तैपनि, उहाँका शक्तिशाली कार्यहरू र चमत्कारहरू र सत्यको घोषणाका बाबजुद, महान् शक्ति र अधिकारमा, त्यहाँ थोरै मात्र थिए जसले उहाँको वाणीलाई सुने र उहाँको उपस्थितिमा रमाए र उहाँका बाहुहरूबाट मुक्ति प्राप्त गरे ।
२७ परन्तु मृतकहरूका माझमा उहाँको परोपकार क्रुसारोहण र उहाँको पुनरुत्थानका बीचमा छोटो समयका लागि सीमित थियो;
२८ अनि म पत्रुसका शब्दहरूमा आश्चर्यचकित भएँ—जसमा उनले भने कि परमेश्वरका पुत्रले कैदमा रहेका आत्माहरूलाई प्रचार गर्नुभयो, जो कुनै समय अनाज्ञाकारी थिए, जब एक पटक परमेश्वरको सहनशीलताले नोआका दिनमा प्रतीक्षा गरिरहेको थियो—र उनलाई ती आत्माहरूलाई प्रवचन दिन र छोटो समयमा तिनीहरूका बीचमा आवश्यक परिश्रम गर्न कसरी सम्भव भयो ।
२९ अनि जब म आश्चर्यचकित थिएँ, मेरा आँखाहरू खुले र मेरो समझ जीवित भयो र मैले बुझेँ कि परमप्रभुको सत्यलाई अस्वीकार गरेका अनाज्ञाकारीहरू र दुष्टका माझमा, तिनीहरूलाई सिकाउन, व्यक्तिगत रूपमा जानुभएन;
३० परन्तु हेर, धर्मीहरू मध्येबाट, उहाँले आफ्ना सेनाहरू सङ्गठित गर्नुभयो र सन्देशवाहकहरू नियुक्त गर्नुभयो, शक्ति र अधिकार पहिरिएर र तिनीहरूलाई अन्धकारमा भएका मानिसहरूका लागि अगाडि बढेर सुसमाचारको ज्योति वहन गर्न अधिकार दिनुभयो, मानिसहरूका सबै आत्माहरूलाई समेत; र यसरी मृतकहरूलाई सुसमाचार प्रचार गरिएको थियो ।
३१ अनि छनोट गरिएका सन्देशवाहकहरू परमप्रभुको स्वीकार्य दिनको घोषणा गर्न र बन्धनमा परेका बन्दीहरूलाई स्वतन्त्रताको घोषणा गर्न अघि बढे, आफ्ना पापहरूबाट पश्चात्ताप गर्ने र सुसमाचार ग्रहण गर्ने सबैलाई समेत ।
३२ यसरी ती मानिसहरूलाई सुसमाचार प्रचार गरिएको थियो जो तिनीहरूका पापहरूमा मरेका थिए, सत्यको ज्ञान बिना वा उल्लङ्घनमा, अगमवक्ताहरूलाई अस्वीकार गरेका थिए ।
३३ यिनीहरूलाई परमेश्वरमा आस्था, पापबाट पश्चात्ताप, पापहरूबाट छुट्काराका लागि प्रतिनियुक्ति बप्तिस्मा, हातहरू राखेर पवित्र आत्माको उपहारका सम्बन्धमा सिकाइएको थियो,
३४ अनि सुसमाचारका अन्य सबै सिद्धान्तहरू जुन तिनीहरूले आफूस्वयम् लाई योग्य बनाउनका लागि बुझ्नु आवश्यक थियो कि तिनीहरूको शरीरमा मानिसहरूकाअनुसार न्याय गर्न सक्छन्, परन्तु आत्मामा परमेश्वरकाअनुसार जिउन सक्छन् ।
३५ अनि यसरी यो मृतकहरूका माझमा, साना र महान्, अधर्मी साथै आस्थावानहरू दुबैका बीचमा जानकारी दिइयो, कि क्रूसमा परमेश्वरका पुत्रको बलिदानद्वारा उद्धार ल्याइएको थियो ।
३६ यसरी यो जानकारी दिइयो कि हाम्रा उद्धारकर्ताले आत्माहरूको संसारमा आफ्नो प्रवासको समयमा, शरीरमा उहाँको गवाही दिने अगमवक्ताहरूका आस्थावान् आत्माहरूलाई निर्देशन दिदै र तयार गर्दै उहाँको समय बिताउनुभयो;
३७ कि तिनीहरूले सबै मृतकहरूलाई उद्धारको सन्देश वहन गर्न सक्छन्, जसलाई उहाँले व्यक्तिगत रूपमा भेट्न सक्नुभएन, तिनीहरूको विद्रोह र उल्लघङ्नका कारण, कि तिनीहरूले उहाँका सेवकहरूको सेवाद्वारा उहाँका वचनहरू सुन्न सक्छन् ।
३८ महान् र शक्तिशाली जनहरू जो धर्मीहरूको यस विशाल सभामा एकत्रित भएका मध्ये पिता आदम, प्राचीन दिनहरूका र सबैका पिता थिए,
३९ अनि हाम्रो महिमा माता हव्वा, उनका धेरै आस्थावान् छोरीहरूसँग जो युगौँदेखि जिइरहेका थिए र साँचो र जिउँदा परमेश्वरको आराधना गरे ।
४० हाबिल, प्रथम सहिद, त्यहाँ थिए र तिनका भाइ शेत, शक्तिशालीहरू मध्ये एकजना, जो आफ्नो पिता, आदमको अभिव्यक्त स्वरुपमा थिए ।
४१ नोआ, जसले बाढीको चेतावनी दिए; शेम, महान् उच्च पादरी; अब्राहाम, आस्थावानका पिता; इसहाक, याकूब र मोशा, इस्राएलको महान् नियम-दाता;
४२ अनि यशैया, जसले अगमवाणीद्वारा घोषणा गरे कि मुक्तिदाता टुटेका हृदयलाई बाँध्न, बन्दीहरूलाई स्वतन्त्रताको घोषणा गर्न र बाँधिएकाहरूका लागि कारागार खोल्न अभिषेक गरिएको थियो, पनि त्यहाँ थिए ।
४३ यसबाहेक, इजकिएल, जसलाई दर्शनमा सुक्खा हड्डीहरूको ठूलो उपत्यका देखाइएको थियो, जसलाई मासुले लुगा लगाइने थियो, मृतकका पुनरुत्थानमा पुनः बाहिर आउन, जीवित आत्माहरू;
४४ दानिएल, जसले पछिल्ला दिनहरूमा परमेश्वरको अधिराज्यको स्थापनाको पूर्वाभास र भविष्यवाणी गरे, पुनः न त कहिल्यै नष्ट गरिने छ न त अरू मानिसहरूलाई दिइने छ;
४५ एलियास्, जो रूपान्तरणको डाँडामा मोशासँग थिए;
४६ अनि मलाकी, अगमवक्ता जसले एलियाको आगमनको गवाही दिए—जसका सम्बन्धमा पनि मोरोनीले अगमवक्ता जोसेफ स्मिथसँग वार्तालाप गरे, घोषणा गर्दै कि उहाँ परमप्रभुको महान् र भयङ्कर दिनको आगमनपूर्व आउनु हुने छ—पनि त्यहाँ थिए ।
४७ अगमवक्ता एलियाले छोराछोरीहरूको हृदयमा तिनीहरूका पिताहरूलाई गरेको प्रतिज्ञाहरू रोप्नु थियो,
४८ समयको पूर्णताको समायावधिमा, मृतकहरूको उद्धारका लागि र सन्ततिहरूलाई तिनीहरूका मातापितासँग बाँध्ने परमेश्वरको मन्दिरमा गरिनु पर्ने महान् कार्यको पूर्वचित्रण गर्दै, अन्यथा सम्पूर्ण पृथ्वी श्रापले प्रहार हुने छ र उहाँको आगमनमा पूर्ण रूपमा विनाश हुने छ ।
४९ यी सबै र अन्य धेरै, नफीहरूका बीचमा रहेका र परमेश्वरका पुत्रको आगमनको गवाही दिने अगमवक्ताहरू समेत, विशाल सभामा मिसिए र तिनीहरूको उद्धारका लागि प्रतिक्षा गरिरहेका थिए,
५० किनकि मृतकहरूले आफ्नो शरीरबाट आफ्ना आत्माहरूको लामो अनुपस्थितिलाई बन्धनका रूपमा मानेका थिए ।
५१ परमप्रभुले यी सिकाउनुभयो र तिनीहरूलाई अगाडि बढ्न शक्ति दिनुभयो, उहाँको मृत्युबाट पुनरुत्थान पछि, उहाँका पिताको अधिराज्यमा प्रवेश गर्न, त्यहाँ अमरत्व र अनन्त जीवनको मुकुट पहिरिनका लागि,
५२ अनि त्यस समयदेखि परमप्रभुद्वारा प्रतिज्ञा गरिएअनुसार तिनीहरूको परिश्रमलाई निरन्तरता दिन्छन् र उहाँलाई प्रेम गर्नेहरूका लागि आरक्षित सबै आशीर्वादहरूमा सहभागी हुन्छन् ।
५३ अगमवक्ता जोसेफ स्मिथ र मेरा पिता, हाइरम स्मिथ, ब्रिघम यङ्ग, जोन टेलर, विल्फर्ड उड्रफ र अन्य योग्य आत्माहरू जो समयको पूर्णतामा अगाडि आउन आरक्षित थिए जुन पछिल्ला दिनको महान् कार्यको आधार बसाल्नमा सहभागी हुन आरक्षित थिए,
५४ मन्दिरहरूको निर्माण गर्ने र त्यहाँ मृतकहरूको उद्धारका लागि विधिहरूको निर्वाह गर्ने सहित, आत्मिक संसारमा पनि थिए ।
५५ मैले देखेँ कि तिनीहरू पनि प्रतिष्ठित र महान् व्यक्तिहरूमध्ये थिए जसलाई परमेश्वरको चर्चमा शासक हुन प्रारम्भमा नै छनोट गरिएको थियो ।
५६ तिनीहरू जन्मनुपूर्व नै, तिनीहरूले, अरू धेरैसँग, आत्माहरूको संसारमा आफ्नो पहिलो पाठहरू प्राप्त गरे र मानिसहरूका आत्माहरूको मुक्तिका लागि उहाँको अङ्गुरको बगैँचामा परिश्रम गर्न परमप्रभुको निर्धारित समयमा अगाडि आउन तयार थिए ।
५७ मैले देखेको छु कि यस समयावधिका आस्थावान् एल्डरहरू, जब तिनीहरू मरणशील जीवनबाट प्रस्थान गर्छन्, पश्चात्ताप र मुक्तिको सुसमाचारको प्रचारमा आफ्नो परिश्रम निरन्तर राख्छन्, परमेश्वरका एकमात्र पुत्रको बलिदानद्वारा, मृतकका आत्माहरूको महान् संसारमा अन्धकारमा र पापको बन्धनमा परेकाहरूका बीचमा ।
५८ पश्चात्ताप गर्ने मृतकलाई उद्धार गरिने छ, परमेश्वरको गृहका विधिहरूको पालनाद्वारा,
५९ अनि उनीहरूले तिनीहरूका उलङ्घनहरूको दण्ड भोगिसके पछि र विशुद्ध बनिसकेपछि, तिनीहरूका कार्यहरूअनुसार पुरस्कार प्राप्त गर्ने छन्, किनकि तिनीहरू मुक्तिका उत्तराधिकारीहरू हुन् ।
६० तसर्थ मृतकहरूको उद्धारको दर्शन मलाई प्रकट गरिएको थियो र म गवाही दिन्छु र मलाई जानकारी छ कि यो अभिलेख सत्य हो, हाम्रा परमप्रभु र मुक्तिदाता, येशू ख्रीष्टको आशीर्वादद्वारा, तसर्थ यस्तै हुने छ । आमीन ।